७ मिनेटमा इटहरीको इतिहास (भिडियोसहित)

इटहरी । इटहरीको इतिहास समेटेर बनाइएको ७ मिनेटको भिडियो सार्वजनिक गरिएको छ । नेप्ली मिडिया प्रालिले तीन वर्षअघि नै तयार गरेको भिडियो वृत्तचित्रको संक्षिप्त रुप सार्वजनिक गरिएको हो ।

न्युजलयको युट्युब च्यानलमार्फत् सार्वजनिक उक्त भिडियोमा इटहरीको बसोबास, शिक्षा, साहित्य, कला, व्यापार तथा खेलकुदको इतिहास संक्षिप्तमा समेटिएको छ ।

इतिहासमा इटहरी नेप्ली मिडिया प्रालिले २०७३ सालमै निर्माण गरेको वृत्तचित्र हो । ३५ मिनेटको उक्त वृत्तचित्रमध्ये इतिहासका कुरा मात्र समेटेर सात मिनेटमा झारिएको वृत्तचित्र निर्माण गर्ने नेप्ली मिडिया प्रालिका निर्देशक हिमाल दाहालले जानकारी दिए ।

२०७३ साल माघ महिनामा वृत्तचित्र इटहरीको सिनेमाहलमा दुई पटक प्रदर्शनसमेत गरिएको थियो । उक्त समयमा इटहरीका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यापारी, कर्मचारीलगायत बालबालिकादेखि वृद्धवृद्धालेसमेत वृत्तचित्र हेरेका थिए । पछि इटहरीका जनप्रतिनिधिहरुलाईसमेत देखाइएको थियो ।

वृत्तचित्रले इटहरीका विभिन्न पक्ष र विषयका इतिहास, बसोबास, विकास र अहिलेको अवस्थासम्मलाई समेटेको वृत्तचित्रका निर्देशक आशीष विकले जानकारी दिए ।

वृत्तचित्रसँगै इटहरीको इतिहाससम्बन्धि पुस्तकसमेत निर्माणको अन्तीम चरणमा रहेको छ । पुरा वृत्तचित्र केही सातामै पुस्तकसहित सार्वजनिक गरिने दाहालले जानकारी दिए ।

इटहरीपछि नेप्लीले विराटनगर महानगरपालिकाको समेत ऐतिहासिक वृत्तचित्र निर्माण गरेको छ भने धरानको पर्यटन प्रबद्र्धन गर्ने वृत्तचित्रसमेत निर्माण गरिसकेको छ । सोलगायत विभिन्न संघसंस्था तथा धार्मिक, सामाजिक महत्वका ठाउँहरुको भिडियो वृत्तचित्रसमेत निर्माण, विभिन्न किसिमका स्तरीय तालिम, पुस्तक लेखन जस्ता काममा नेप्ली सक्रिय रहँदै आएको छ ।




 न्यूजलय  बुधबार ०८, असोज २०७६

No comments:

Post a Comment